पर्वतमा सञ्चालित ह्याण्डबलको साताव्यापी तालिम सम्पन्न, ४४ जना सहभागी, “विद्यालय स्तरिय ह्याडबल छिट्टै गर्छौ”–अध्यक्ष पहाडी

कुश्मा, २८ मंसिर ।
पर्वतको कुश्मामा सञ्चालन भएकोे ह्याण्डबल खेल सम्बन्धी साताब्यापी प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

औपचारिक कार्यक्रमका बीच तालिमको समापन गर्दै प्रमुख अतिथि तथा नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले ह्याण्डबल खेलको ‘क्रेज’ देशव्यापीरुपमा बढिरहेको बताउँदै यो खेलले व्यक्तिको व्यक्तित्व, नेतृत्व र शारिरीक तन्दुरुस्ती राख्न मद्दत गर्ने भएकाले विद्यार्थी जीवनबाटै यस खेलमा लाग्नुको विशेष महत्व हुने कुरामा जोड दिएकाछन ।

नेपाल ओलम्पिक कमिटिका सदस्य समेत रहेका गुरुङले खेलका माध्यमबाट समाज र देशको सेवा गर्न तल्लीन भएर लाग्नुपर्ने र तालिममा लिएको ज्ञान सीपलाई निरन्तर अभ्यासबाट निखारपन ल्याउनुपर्ने कुरामा सजग रहन प्रशिक्षार्थीहरुलाई ध्यानाकर्षण गराए ।

“विदेशी प्रशिक्षक झिकाएर जिल्लास्तरमा सात–सात दिनको तालिम चलाउनु चानचुने काम होइन” अध्यक्ष गुरुङले भने–“तालिमको प्रभावकारी तारतम्य मिलाएकोमा जिल्ला ह्याण्डबल संघको बधाइको पात्र छ” । उनले जिल्ला ह्याण्डबल संघ पर्वतले निकट भविश्यमा आयोजना गर्ने विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिताका लागि आवस्यक ट्रफी, मेडल र प्रमाणपत्र संघले सहयोगस्वरुप उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे ।

तालिमको समापन समारोहमा बोल्दै जिल्ला तेक्वान्दो संघका अध्यक्ष तथा नमुना आवासीय माविका प्राचार्य इन्द्रमान खत्रीले अरु खेलको तुलनामा ह्याण्डबल खेलले सबैजसो खेलाडीलाई सक्रिय बनाउने तथा दर्शकहरुलाई पनि मनोरञ्जन प्रदान गर्ने भएकाले ह्याण्डबलप्रति पछिल्लो समयमा सबैको ध्यान पुगेको बताएृ । उनले अब हरेक विद्यालयले आफ्ना छात्रछात्राहरुलाई ह्याण्डबल खेल्ने बातावरण उपलब्ध गराउनुपर्ने खाँचो समेत औल्याए ।

शिवालय माविका प्रधानाध्यापक भुपेन्द्र चपागाईले खेल, अनुशासन र शिक्षा एक अर्काका परिपूरक भएकाले विद्यालय शिक्षाका साथसाथमा खेलकुदलाई पनि अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिँदै साना–ठूला सबैले खेल्न मिल्ने ह्याण्डबल खेललाई अब जिल्लाव्यापी बनाएर सबै विद्यालयमा खेल्ने वातावरण बनाउन आग्रह गरे ।

जिल्ला ह्याण्डबल संघ पर्वतका अध्यक्ष राजेन्द्र पहाडीले आफू ह्याण्डबलको पूर्व खेलाडी भएका कारणले पनि जिल्लामा हराउँदै गएको ह्याण्डबल खेललाई पुनर्जागृत गर्न तालिमको आयोजना गरिएको जानकारी दिए । उनले छिट्टैनै कुश्मामा विद्यालय स्तरिय ह्याण्डबल आयोजनागर्ने बताए ।

समापन समारोहमा नेपाल ह्याण्डबल संघका सचिव केशव पाठक, जाइकाका स्वयंसेवी प्रशिक्षक केन्जी इशिहारा, पूर्व खेलाडी मञ्च नेपालका सह–कोषाध्यक्ष महेश पौडेल, आदर्श आवासीय माविका प्रिन्सिपल हिमबहादुर पौडेल, नेल्टा पर्वतका अध्यक्ष देव शर्मा, जिल्ला खेलकुद विकास समितिका सदस्य साजन श्रेष्ठ, सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक शालिकराम अधिकारी, एथलेटिक्स प्रशिक्षक बिष्णुप्रसाद नेवार, कराँते प्रशिक्षक राम श्रेष्ठलगायतका बक्ताहरुले प्रशिक्षार्थीहरुलाई तालिममा सिकेको ज्ञान सीपलाई व्यवहारमा उतार्न र अरु साथीहरुलाई पनि सिकाउन शुभकामना दिएका थिए ।

समापन कार्यक्रममा प्रमुख अतिथि तेज गुरुङलगायतका अतिथिहरुले सबै ४४ जना खेलाडी र सहभागी विद्यालयहरुलाई सहभागिताको प्रमाणपत्र तथा पुरस्कार प्रदान गरे । पुरस्कारको सौजन्य नमुना आवासीय मावि र नमस्ते बुक्स एण्ड स्टेशनरीले गरेका थिए भने प्याब्सन पर्वतले अतिथि सत्कारको व्यवस्था गरेको थियो ।

तालिमको सफल सञ्चालनका लागि पूर्व खेलाडीहरु गोविन्द श्रेष्ठ, ज्ञानेन्द्र जोशी, प्रकाश कर्माचार्य, उत्तम कर्माचार्य, केदार कर्माचार्य, राजेश कुमाल, नारायण कुमाललगायतकाले ठूलो योगदान गरेको संघका सचिव निलराज पुरीले जानकारी दिए । तालिममा केन्जी इशिहारा र स्थानिय प्रशिक्षक रमेश श्रेष्ठले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

यही मंसिर २२ गते कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गरी २८ गतेसम्म सञ्चालन भएको तालिममा कुश्मास्थित नारायण माध्यमिक विद्यालय, शिवालय माध्यमिक विद्यालय, नमुना आवासीय मावि, कालीगण्डकी एकेडेमी, आदर्श आवासीय मावि, गुरुकुल आवासीय मावि, शहिदस्मारक आवासीय मावि र सशस्त्र प्रहरी बलका गरी कूल ४४ जना सहभागी रहेका छन् । तालिम समापनको अघिल्लो दिन सहभागीहरुका बीच मैत्रीपूर्ण ह्याण्डबल खेल पनि खेलाइएको थियो ।

सोही अवसरमा आयोजकका तर्फबाट प्रमुख अतिथि, विशिष्ट अतिथि र प्रशिक्षकलाई मायाको चिनो प्रदान गरिएको थियो । जिल्ला ह्याण्डबल संघ पर्वतका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा भएको समापन समारोहमा ह्याण्डबलका पूर्व खेलाडी प्रकाश कर्माचार्यले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला ह्याण्डबल संघका स्थानीय प्रशिक्षक शिक्षक रमेश श्रेष्ठले गरेका थिए ।

पर्वतको कुश्मामा ह्याण्डबलको साता ब्यापी प्रशिक्षण सुरु, “म पनि ह्याण्डबल खेलाडी थिए”–मेयर जोशी

पोखरा, २२ मंसिर ।
पर्बतको कुश्मामा ह्याण्डबलको साताब्यापी प्रशिक्षण कार्यक्रम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले खेलले शारीरिक तन्दुरुस्तता मात्र कायम गर्ने नभै व्यक्तिलाई अनुशासित, गतिशील र नियमकानून भित्र बस्ने बानीको विकास गराउने भएकाले खेलको विकासका लागि सबैको ध्यान पुग्नुपर्ने कुरामा जोड दिएकाछन ।

शिक्षा र खेलकुद एक–अर्काका परिपूरक भएकाले विद्यालयका शिक्षक र विद्यार्थीको सहभागितामा एक हप्ते प्रशिक्षण सञ्चालन हुनु खुशीको कुरा भएको बताउँदै मेयर जोशीले आफू पनि विद्यार्थीकालमा ह्याण्डबलको खेलाडी रहेको स्मरण गरे । कुश्मा क्षेत्रभित्र ह्याण्डबल खेलको विस्तार तथा विकासका लागि कुश्मा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

 

तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुप्रसाद ढकालले खेलका माध्यमबाट राष्ट्रका लागि दक्ष र शिल्पी जनशक्ति तयार गर्न मद्दत पुग्ने भएकाले देशको प्रतिनिधित्व गर्न सक्ने खेलाडी तयार गर्नुपर्ने आवश्यकतामा रहेको बताए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङले स्वास्थ्यका लागि खेलकुद–राष्ट्रका लागि खेलकुदको नारा सार्थक पार्न जिल्ला ह्याण्डबल संघले प्रारम्भ गरेको तालिमको प्रशंसा गरे ।

जिल्ला ह्याण्डबल संघ पर्वतका अध्यक्ष राजेन्द्र पहाडीले ह्याण्डबल खेललाई विद्यालय शिक्षासँग जोडेर अघि बढ्न तालिमको आयोजना गरिएको जानकारी दिए । शसस्त्र प्रहरी बल, चण्डीका गणका निमित्त गणपति दीपेन्द्र गिरी, जिल्ला तेकान्दो संघका अध्यक्ष इन्द्रमान खत्री, जिल्ला खेलकुद विकास समितिका सदस्य साजन श्रेष्ठलगायतका व्यक्तित्वहरुले सहभागी खेलाडीहरुलाई सफलतापूर्वक तालिम सम्पन्न गरी निरन्तर खेललाई अगाडि बढाउन शुभेच्छा प्रकट गरेका थिए ।

जिल्ला ह्याण्डबल संघ, पर्वतको आयोजनामा कुश्मास्थित सामुदायिक तथा संस्थागत विद्यालयका १/१ जना खेलकुद शिक्षक तथा प्रत्येक विद्यालयबाट ४/४ जना विद्यार्थीहरुका लागि ह्याण्डबल खेलसम्बन्धी आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।यही मंसिर २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने तालिममा कुश्मास्थित नारायण माध्यमिक विद्यालय, शिवालय माध्यमिक विद्यालय, नमुना आवासीय मावि, कालीगण्डकी एकेडेमी, आदर्श आवासीय मावि, गुरुकुल आवासीय मावि, शहिदस्मारक आवासीय मावि र राष्ट्रिय बाल शिक्षा सदन आवासीय माविका खेलकुद शिक्षक र विद्यार्थी गरी कूल ४० जना सहभागी रहेका छन् ।

यसै गरी पर्वत जिल्लाका ८ जना पूर्व ह्याण्डबल खेलाडीहरु र ३ जना शसस्त्र प्रहरीका खेलाडीहरुको पनि सहभागिता रहेको कुरा जिल्ला ह्याण्डबल संघका सचिव निलराज पुरीले जानकारी दिएका छन । तालिममा जापानी स्वयसेवी प्रशिक्षक केन्जी एशिहाराले प्रशिक्षण दिनेछन । केन्जी नेपाल ह्याण्डबल संघको अनुरोधमा जाइकामार्फत पर्वत जिल्लामा ह्याण्डबलको प्रशिक्षण दिन नेपाल आएका हुन ।

तालिमको समापनसँगै सहभागीहरुका बीचमा मैत्रीपूर्ण ह्याण्डबल खेल खेलाइने तयारी पनि भैरहेको छ । जिल्ला ह्याण्डबल संघ पर्वतका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा ह्याण्डबलका पूर्व खेलाडी ज्ञानेन्द्र जोशीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला ह्याण्डबल संघका प्रशिक्षक शिक्षक रमेश श्रेष्ठले गरेका थिए ।

प्रशिक्षणमा जिल्ला ह्याण्डबल संघका सदस्यहरु प्रकाश कर्माचार्य, नारायण कुमाल, राजेश कुमाल, गोविन्दप्रसाद श्रेष्ठ, केदार कर्माचार्यलगायतले सक्रियतापूर्वक सहयोग गरिरहेको अध्यक्ष पहाडीले पोखरा स्र्पोट्स डटकमलाई बताए ।

जाग्दैछ ह्याण्डबल पर्वतमा, “विद्यालयबाट सुरु गर्दैछौं”– अध्यक्ष पहाडी

केशब पाठक, पोखरा, १४ मंसिर ।
कुनै बेला ह्याण्डबल खेलको लागि उत्कृष्ट जिल्ला मानिएको पर्बत जिल्लामा पुनः ह्याण्डबल जाग्दैछ भन्ने सुन्दा जो कोही अचम्भमा पर्छ होला । आधा दर्जन भन्दा बढी राष्ट्रिय खेलाडी जन्माएको पर्बत पुनः एक पटक आफ््नो शाख जोगाउन कम्मर कसेर लागेको हो ।

दुई वर्ष अघि संघ गठन भएर अगाडी बढेको पर्बतको नेतृत्व उप–प्रध्यापक एवम सामाजिक अभियन्ता राजेन्द्र पहाडीले गरिरहेका छन् । कुनै बेला ह्याण्डबलका खेलाडी रहिसकेका पहाडीले आफू ‘लेफ्टी’ खेलाडी रहेको र खेल्ने दौरानमा आफ्नो दायाँ हातको औंला भाँच्चिएको उनको मानसपटलमा अझै ताजा छ । उनी त्यही औंला देखाउँदै भन्छन–“लौ हेर्नुस् मेरो औंला, ह्याण्डबल यसमा नै बाँचेको छ ।” आफूले कुनै बेला हालका संघका उपाध्यक्ष जयन्त शर्मासंग प्रशिक्षण लिएको उनले बिर्सिएका छैनन् ।

पहाडीको नेतृत्वमा अगाडी बढेको ह्याण्डबल बिद्यालय स्तरबाट सुरु भएको हो । अहिले पर्बत कुश्मास्थित पाँच भन्दा बढी बिद्यालयहरुका विद्यार्थीहरु दिनहु प्रशिक्षणमा व्यस्त रहेका छन् । स्थानीय नमुना आवासीय माविका शिक्षक समेत रहेका ह्याण्डबल खेलाडी रमेश श्रेष्ठले विद्यालयका विद्यार्थीहरुलाई प्रशिक्षण दिइरहेका छन ।

अहिले दुइ दर्जन विद्यार्थीहरु दिनहु्ँ प्रशिक्षणमा व्यस्त रहेका छन । धेरै विद्यालयहरुको आर्कषण यसमा बढ्दै गएको अध्यक्ष पहाडीले बताए । नमुना आवाशिय माबीका प्रिन्सीपल इन्द्रमान खत्रीले ह्याण्डबल खेलमा विद्यार्थीहरुको रुची बढ्दै गए पछि विद्यालयको खेल मैदान र खेल शिक्षकलाई समेत यसमा प्रशिक्षित गर्न व्यवस्था मिलाइएको बताए ।

पर्वतमा ह्याण्डबल खेलको आर्कषण बढ्दै गएपछि नेपाल ह्याण्डबल संघले केही साताको लागि बिदेशी प्रशिक्षकको व्यवस्था मिलाउने तयारी भइरहेको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले पोखरा स्र्पोट्सलाई बताए । अहिले नेपालमा जाइकाबाट एक जना स्वयंसेबी प्रशिक्षक कार्यरत रहेका छन । ति स्वयंसेबी प्रशिक्षकलाई पर्वत पठाउन जाइकासंग अनुरोध गरिएको अध्यक्ष गुरुङले बताए ।

अब पर्वतमा जापानी प्रशिक्षक पुगेपछि ह्याण्डबलमा थप आर्कषण बढ्ने अध्यक्ष पहाडीले बताए । “अहिले जसरी आर्कषण बढेको छ तर हामीसंग केही बल र गोल नेटको खाँचो बढ्दै गएको छ” अध्यक्ष पहाडीले भने–“स्रोतको अभाव छ, तर आशा छ स्थानिय विद्यालयहरुले सहयोग तथा सहकार्यका हात अगाडी बढाउने हो भने धेरै मेहनत गर्न नपर्ने हुन्छ ।” यता पर्वत जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष प्रेम गुरुङले जिल्लामा ह्याण्डबल खेलको लोकप्रियता संगै यसको बिकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

अहिले ह्याण्डबलका ३२ भन्दा बढी जिल्लामा आफ्नो संघ स्थापना भएर अगाडी बढेको छ । ह्याण्डबलका लागि उदयपुर र कास्कीमा एकेडेमी संचालनमा छन भने काठमाण्डौ कपनमा आफ्नै खेल मैदान रहेको छ । पोखरा रंगशालामा समेत हालै मात्र राष्ट्रिय खेलकुल परिषदले एक करोडको लागतमा ह्याण्डबल एकेडेमीको निर्माण गरेर व्यवस्थित मैदान निर्माण गरेको छ ।

तेज गुरुङको नेतृत्वमा रहेको नेपाली ह्याण्डबल नेपाली सेना, शसस्त्र प्रहरीमा ह्याण्डबल लोकप्रिय खेलको रुपमा रहेको छ भने अन्य जिल्लामा ह्याण्डबलको विस्तार तिव्र रुपमा अगाडी बढेको छ । पर्बतमा पनि बडागाँउ चौर स्थित शसस्त्र प्रहरी चण्डीका गण परिसरको खेल मैदान ह्याण्डबल खेलका उपयूक्त रहेको र त्यसलाई ब्यवस्थित गरिने जिल्ला ह्याण्डबल संघका उपाध्यक्ष तथा जिल्ला समन्वय समिती पर्वतका प्रमुख मनोहर बि पौडेलले बताए ।

एन प्याब्सान खेलकुद महोत्सव अन्तर्गत ह्याण्डबल जारी

पोखरा, १८ मंसिर ।
निजि तथा आवासीय विद्यालयहरुको छाता संगठन एन प्याव्सान कास्कीको खेलकुद महोत्सव अन्तर्गत सोमबार फुटबल,भलिवल तथा ह्याण्डबल प्रतियोगिता भएको छ ।

सोमबार भएको छात्र फुटबल तर्फ युनिभर्स बोर्डिङ स्कूल, चिल्डेन एकेडेमी, कास्की मोडनाइज्ड, हेम्जा वोर्डिङ स्कूल, पुष्प सदन, पोखरा क्याव्रिजड,लेखनाथ मेमोरियल र ज्ञानज्योति विद्याकुञ्ज विजयी भएको फुटबल उपसमिति छात्र तर्फका संयोजक राजु केसीले जानकारी दिए । त्यस्तै छात्रा फुटबल प्रतियोगिता तर्फ साइनिड्ड स्टार,सनराज प्रिपारोटी,सिद्धिविनायक, चिल्डे«र्स एकेडेमी, फेवा वोर्डिङ स्कूल, पोखरा क्याव्रिजड,कान्तिपुर एकेडेमी विजियी भएको फुटबल उपसमिति छात्रा तर्फका संयोजक हिमाल गुरुङले जानकारी दिए ।

त्यसैगरी छात्र भलिबल तर्फ अञ्जुली वोर्डिङ स्कूल,गोर्खा वोर्डिङ स्कूल, रत्नज्योति वोर्डिङ स्कूल, चिल्डेन्स एकेडेमी, हावर्ड एकेडेमी,युनिभर्स वोर्डिङ स्कूल, कान्तिपुर एकेडेमी, लिटिल फ्लावर, गोर्खा वोर्डिङ स्कूल बिजयी भए ।

छात्रा तर्फ गोर्खा वोर्डिङ स्कूल, अञ्जुली वोर्डिङ स्कूल, हावर्ड एकेडेमी, हेम्जा वोर्डिङ स्कूल, कास्की मोडनाइज्ड, ज्ञानगंगा वोर्डिङ स्कूल विजयी भएका भलिबल उपसमिति संयोजकमा प्रकाशराज वाग्लेले जानकारी दिए ।

ह्याण्डबलको छात्र तर्फ नेशनल क्रियशन, अक्सपोर्ड स्कूल, चिल्डेन्र्स एकेडेमी, एलपी देवकोटा, त्रिभेनी वोर्डिङ स्कूल, रत्नज्योति वोर्डिङ स्कूल, कान्तिपुर एकेडेमी र छात्रा तर्फ कान्तिपुर बोर्डिङ स्कूल, हेम्जा वोर्डिङ स्कूल र कास्की मोडनाइज्ड विजयी भएको ह्याण्डबल उपसमिति संयोजकमा अर्जूनप्रसाद अधिकारी “एन प्याब्सान कास्कीको संकल्पःखेलकुद शिक्षाको अभिन्न अंग” भन्ने मुल नारा लिएको उक्त प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्याण्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा सञ्चालित हुनेछन् ।

पोखराको रंगशालामा हुने खेलकुद महोत्सवको उद्घाटन मंगलबार नेपाल सरकारका संघीय खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने प्रचार प्रसार उपसमिति संयोजक प्रेमराज अधिकारीले जानकारी दिए । मंसीर १८ गते औपचारिक उद्घाटन गरिने महोत्सव २१ गते सम्म सञ्चालन हुने छ ।