पोखरामा चौथो एकता बुक्स अन्तर बिद्यालय ह्याण्डवल प्रतियोगिता शुरु

पोखरा ९, माघ ।
पोखरा रंगशालामा बुधबार देखि चौथो संस्करणको एकता बुक्स अन्तर बिद्यालय छात्र–छात्रा ह्याण्डवल प्रतियोगिता सुरु भएको छ । बुधबार भएको खेलमा छात्रा तर्फ दुई र छात्र तर्फ ४ गरी ६ खेल सम्पन्न भएको छ ।

छात्रा तर्फ बुधबार भएको पहिलो खेलमा सरस्वती बिद्या आश्रमले पोखरा लनर्स एकेडेमीलाई ६–१ को गोल अन्तरले पराजित गर्यो । दोश्रो खेलमा माउण्ट अन्नपुर्ण माविले एस.ओ.एस. बिद्यालयलाई ९–४ को गोल अन्तरले पराजित गर्यो ।

त्यसै गरी छात्र तर्फको ब्ुधबार भएको पहिलो खेलमा पोखरा एकेडेमीले विजयी सुरुवात गरेको छ । पोखरा एकेडेमीले रेन्वो एकेडेमीलाई २३–६ को फराकिलो पोल अन्तरले पन्छायो । दोश्रो खेलमा वेलनन एकेडेमीले रत्न ज्योति स्कुललाइ १०–३ को गोल अन्तरले पराजित गर्यो । अर्को खेलमा सरस्वती बिद्याआश्रमले लेखनाथ बिभुतीलाई १२–३ को गोल अन्तरले पन्छायो ।

बुधबारको अन्तिम खेलमा ज्ञान ज्योती बिद्याकुन्जले पोखरा लनर्स एकेडेमीलाई १७–९ को गोल अन्तरले पराजित गर्यो । बुधबार भएको खेलमा जित हासिल गरेका टिमहरु क्वाटरफाईनलमा प्रबेश गरेको रेफ्रि समितिका संयोजक राम बहादुर क्षेत्रीले बताए । उनका अनुसार विहिबार क्वाटरफाईनलका खेलहरु विहानै देखि हुने भएकाछन् ।

यही माघ १२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले यस्ता प्रतियोगिताले बिद्यार्थीहरुको पढाइको साथमा खेलकुदको समेत विकास हुने बताए । उनले बिद्यार्थीहरुलाई लक्षित गर्दै भने “अहिलेका धेरै बिद्यार्थीहरु आफ्नो दैनिक काम भन्दा बढी मोवाईल फोनमा व्यस्त हुने गरेकाछन्, यसमा अब तपाईहरु बढी केन्द्रित नहुनुहोस यसले हाम्र्रो समय वर्वाद बनाएको छ ।” उनले पोखरा रंगशालामा हालै निमार्ण भएको ह्याण्डवल एकेडेमीमा लाईट जडान गर्नको लागि आवश्यक सहयोग गर्ने समेत वचन दिए ।

नेपाल ह्याण्डवल संघका केन्द्रिय अध्यक्ष तेज बहादुर गुरुङले बिद्यालय स्तरबाटै ह्याण्डबल खेलको विकास र विस्तार गर्न यस्ता प्रतियोगिता निरन्तर हुनुपर्नेमा जोड दिए । एकता बुक्स एण्ड डिष्ट्रिव्यूटर्स प्रा.लि.का क्षेत्रिय निर्देशक संजय अधिकारीले खेलकुदको विकास गर्न आफुहरुले उक्त प्रतियोगितामा मुख्य प्रायोजन गर्दै आएको बताए । प्रतियोगिता संयोजक चित्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष पुष्पा श्रेष्ठले स्वागत गरेकी हुन् ।

कास्की जिल्ला ह्याण्डवल संघको आयोजना नेपाल ह्याण्डवल संघको प्राविधिक सहयोगमा संचालन भएको प्रतियोगितामा छात्र तर्फ १६ र छात्रा तर्फ १० टिमको सहभागिता रहेको संघ कास्कीका सचिब टेक बहादुर गुरुङले बताए । “ह्याण्डवल खेलौं, स्वस्थ्य र अनुशासित युवा जनशक्ति तयार गरौं” भन्ने नाराका साथ पोखरामा आयोजना भएको उक्त प्रतियोगितामा विजेता छात्र तथा छात्रालाई जनहि १० हजार र उपविजेतालाई ५ हजार साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *