जाग्दैछ ह्याण्डबल पर्वतमा, “विद्यालयबाट सुरु गर्दैछौं”– अध्यक्ष पहाडी

केशब पाठक, पोखरा, १४ मंसिर ।
कुनै बेला ह्याण्डबल खेलको लागि उत्कृष्ट जिल्ला मानिएको पर्बत जिल्लामा पुनः ह्याण्डबल जाग्दैछ भन्ने सुन्दा जो कोही अचम्भमा पर्छ होला । आधा दर्जन भन्दा बढी राष्ट्रिय खेलाडी जन्माएको पर्बत पुनः एक पटक आफ््नो शाख जोगाउन कम्मर कसेर लागेको हो ।

दुई वर्ष अघि संघ गठन भएर अगाडी बढेको पर्बतको नेतृत्व उप–प्रध्यापक एवम सामाजिक अभियन्ता राजेन्द्र पहाडीले गरिरहेका छन् । कुनै बेला ह्याण्डबलका खेलाडी रहिसकेका पहाडीले आफू ‘लेफ्टी’ खेलाडी रहेको र खेल्ने दौरानमा आफ्नो दायाँ हातको औंला भाँच्चिएको उनको मानसपटलमा अझै ताजा छ । उनी त्यही औंला देखाउँदै भन्छन–“लौ हेर्नुस् मेरो औंला, ह्याण्डबल यसमा नै बाँचेको छ ।” आफूले कुनै बेला हालका संघका उपाध्यक्ष जयन्त शर्मासंग प्रशिक्षण लिएको उनले बिर्सिएका छैनन् ।

पहाडीको नेतृत्वमा अगाडी बढेको ह्याण्डबल बिद्यालय स्तरबाट सुरु भएको हो । अहिले पर्बत कुश्मास्थित पाँच भन्दा बढी बिद्यालयहरुका विद्यार्थीहरु दिनहु प्रशिक्षणमा व्यस्त रहेका छन् । स्थानीय नमुना आवासीय माविका शिक्षक समेत रहेका ह्याण्डबल खेलाडी रमेश श्रेष्ठले विद्यालयका विद्यार्थीहरुलाई प्रशिक्षण दिइरहेका छन ।

अहिले दुइ दर्जन विद्यार्थीहरु दिनहु्ँ प्रशिक्षणमा व्यस्त रहेका छन । धेरै विद्यालयहरुको आर्कषण यसमा बढ्दै गएको अध्यक्ष पहाडीले बताए । नमुना आवाशिय माबीका प्रिन्सीपल इन्द्रमान खत्रीले ह्याण्डबल खेलमा विद्यार्थीहरुको रुची बढ्दै गए पछि विद्यालयको खेल मैदान र खेल शिक्षकलाई समेत यसमा प्रशिक्षित गर्न व्यवस्था मिलाइएको बताए ।

पर्वतमा ह्याण्डबल खेलको आर्कषण बढ्दै गएपछि नेपाल ह्याण्डबल संघले केही साताको लागि बिदेशी प्रशिक्षकको व्यवस्था मिलाउने तयारी भइरहेको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले पोखरा स्र्पोट्सलाई बताए । अहिले नेपालमा जाइकाबाट एक जना स्वयंसेबी प्रशिक्षक कार्यरत रहेका छन । ति स्वयंसेबी प्रशिक्षकलाई पर्वत पठाउन जाइकासंग अनुरोध गरिएको अध्यक्ष गुरुङले बताए ।

अब पर्वतमा जापानी प्रशिक्षक पुगेपछि ह्याण्डबलमा थप आर्कषण बढ्ने अध्यक्ष पहाडीले बताए । “अहिले जसरी आर्कषण बढेको छ तर हामीसंग केही बल र गोल नेटको खाँचो बढ्दै गएको छ” अध्यक्ष पहाडीले भने–“स्रोतको अभाव छ, तर आशा छ स्थानिय विद्यालयहरुले सहयोग तथा सहकार्यका हात अगाडी बढाउने हो भने धेरै मेहनत गर्न नपर्ने हुन्छ ।” यता पर्वत जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष प्रेम गुरुङले जिल्लामा ह्याण्डबल खेलको लोकप्रियता संगै यसको बिकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

अहिले ह्याण्डबलका ३२ भन्दा बढी जिल्लामा आफ्नो संघ स्थापना भएर अगाडी बढेको छ । ह्याण्डबलका लागि उदयपुर र कास्कीमा एकेडेमी संचालनमा छन भने काठमाण्डौ कपनमा आफ्नै खेल मैदान रहेको छ । पोखरा रंगशालामा समेत हालै मात्र राष्ट्रिय खेलकुल परिषदले एक करोडको लागतमा ह्याण्डबल एकेडेमीको निर्माण गरेर व्यवस्थित मैदान निर्माण गरेको छ ।

तेज गुरुङको नेतृत्वमा रहेको नेपाली ह्याण्डबल नेपाली सेना, शसस्त्र प्रहरीमा ह्याण्डबल लोकप्रिय खेलको रुपमा रहेको छ भने अन्य जिल्लामा ह्याण्डबलको विस्तार तिव्र रुपमा अगाडी बढेको छ । पर्बतमा पनि बडागाँउ चौर स्थित शसस्त्र प्रहरी चण्डीका गण परिसरको खेल मैदान ह्याण्डबल खेलका उपयूक्त रहेको र त्यसलाई ब्यवस्थित गरिने जिल्ला ह्याण्डबल संघका उपाध्यक्ष तथा जिल्ला समन्वय समिती पर्वतका प्रमुख मनोहर बि पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *