पर्वतको कुश्मामा ह्याण्डबलको साता ब्यापी प्रशिक्षण सुरु, “म पनि ह्याण्डबल खेलाडी थिए”–मेयर जोशी

पोखरा, २२ मंसिर ।
पर्बतको कुश्मामा ह्याण्डबलको साताब्यापी प्रशिक्षण कार्यक्रम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले खेलले शारीरिक तन्दुरुस्तता मात्र कायम गर्ने नभै व्यक्तिलाई अनुशासित, गतिशील र नियमकानून भित्र बस्ने बानीको विकास गराउने भएकाले खेलको विकासका लागि सबैको ध्यान पुग्नुपर्ने कुरामा जोड दिएकाछन ।

शिक्षा र खेलकुद एक–अर्काका परिपूरक भएकाले विद्यालयका शिक्षक र विद्यार्थीको सहभागितामा एक हप्ते प्रशिक्षण सञ्चालन हुनु खुशीको कुरा भएको बताउँदै मेयर जोशीले आफू पनि विद्यार्थीकालमा ह्याण्डबलको खेलाडी रहेको स्मरण गरे । कुश्मा क्षेत्रभित्र ह्याण्डबल खेलको विस्तार तथा विकासका लागि कुश्मा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

 

तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुप्रसाद ढकालले खेलका माध्यमबाट राष्ट्रका लागि दक्ष र शिल्पी जनशक्ति तयार गर्न मद्दत पुग्ने भएकाले देशको प्रतिनिधित्व गर्न सक्ने खेलाडी तयार गर्नुपर्ने आवश्यकतामा रहेको बताए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङले स्वास्थ्यका लागि खेलकुद–राष्ट्रका लागि खेलकुदको नारा सार्थक पार्न जिल्ला ह्याण्डबल संघले प्रारम्भ गरेको तालिमको प्रशंसा गरे ।

जिल्ला ह्याण्डबल संघ पर्वतका अध्यक्ष राजेन्द्र पहाडीले ह्याण्डबल खेललाई विद्यालय शिक्षासँग जोडेर अघि बढ्न तालिमको आयोजना गरिएको जानकारी दिए । शसस्त्र प्रहरी बल, चण्डीका गणका निमित्त गणपति दीपेन्द्र गिरी, जिल्ला तेकान्दो संघका अध्यक्ष इन्द्रमान खत्री, जिल्ला खेलकुद विकास समितिका सदस्य साजन श्रेष्ठलगायतका व्यक्तित्वहरुले सहभागी खेलाडीहरुलाई सफलतापूर्वक तालिम सम्पन्न गरी निरन्तर खेललाई अगाडि बढाउन शुभेच्छा प्रकट गरेका थिए ।

जिल्ला ह्याण्डबल संघ, पर्वतको आयोजनामा कुश्मास्थित सामुदायिक तथा संस्थागत विद्यालयका १/१ जना खेलकुद शिक्षक तथा प्रत्येक विद्यालयबाट ४/४ जना विद्यार्थीहरुका लागि ह्याण्डबल खेलसम्बन्धी आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।यही मंसिर २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने तालिममा कुश्मास्थित नारायण माध्यमिक विद्यालय, शिवालय माध्यमिक विद्यालय, नमुना आवासीय मावि, कालीगण्डकी एकेडेमी, आदर्श आवासीय मावि, गुरुकुल आवासीय मावि, शहिदस्मारक आवासीय मावि र राष्ट्रिय बाल शिक्षा सदन आवासीय माविका खेलकुद शिक्षक र विद्यार्थी गरी कूल ४० जना सहभागी रहेका छन् ।

यसै गरी पर्वत जिल्लाका ८ जना पूर्व ह्याण्डबल खेलाडीहरु र ३ जना शसस्त्र प्रहरीका खेलाडीहरुको पनि सहभागिता रहेको कुरा जिल्ला ह्याण्डबल संघका सचिव निलराज पुरीले जानकारी दिएका छन । तालिममा जापानी स्वयसेवी प्रशिक्षक केन्जी एशिहाराले प्रशिक्षण दिनेछन । केन्जी नेपाल ह्याण्डबल संघको अनुरोधमा जाइकामार्फत पर्वत जिल्लामा ह्याण्डबलको प्रशिक्षण दिन नेपाल आएका हुन ।

तालिमको समापनसँगै सहभागीहरुका बीचमा मैत्रीपूर्ण ह्याण्डबल खेल खेलाइने तयारी पनि भैरहेको छ । जिल्ला ह्याण्डबल संघ पर्वतका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा ह्याण्डबलका पूर्व खेलाडी ज्ञानेन्द्र जोशीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला ह्याण्डबल संघका प्रशिक्षक शिक्षक रमेश श्रेष्ठले गरेका थिए ।

प्रशिक्षणमा जिल्ला ह्याण्डबल संघका सदस्यहरु प्रकाश कर्माचार्य, नारायण कुमाल, राजेश कुमाल, गोविन्दप्रसाद श्रेष्ठ, केदार कर्माचार्यलगायतले सक्रियतापूर्वक सहयोग गरिरहेको अध्यक्ष पहाडीले पोखरा स्र्पोट्स डटकमलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *